पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत
हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको साङ्गीतिक पलेंटीमा यसपाली गीतकार तथा अभिनेता नीर शाह प्रस्तुत हुने भएका छन् । कार्यक्रममा शाहद्वारा रचित झण्डै डेढ दर्जन गीतहरू समावेस गरिएका छन् जसलाई पलेँटीका कण्ठ-सिल्पी मीना पोखरेल र रुपक चौधरीले गाउने छन् ।
पलेँटी कार्यक्रम आजभन्दा झण्डै २२ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।
नीर शाह लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहँदै आएका परिचित अभिनेता तथा निर्देशक हुन् । उनको कलाकारितामा गीति सृजनाको पनि महत्वपूर्ण भूमिका रहेको छ । शाहले रचना गरेका गीतहरूले लामो समयदेखि नेपाली संगीत संसारलाई तरङ्गित बनाउँदै आएका छन् ।
उनले रचेका गीतमा ‘पर्खी बसेँ आउला भनी', 'कहिले काहीँ म हाँस्छु' 'गहिराईमा डुब्दै नडुब', अधरको मुस्कान त केही होइन', 'बादल बनाई देऊ', 'हिउँभन्दा चिसो' लगायतका अनेक गीतहरू रहेका छन् ।

शाहले गैर फिल्मी गीतमा जसरी कलम चलाएका छन् त्यत्तिकै सशक्त ढंगले फिल्मी गीतमा पनि कलम चलाएका छन् । शाहले रचना गरेका फिल्मी गीतहरूमा 'आँखैमा कसैको तस्वीर बसेछ', 'जति निर्मल', 'छोरी मलाई भागी भागी', 'यो साँझ यो सुवास' लगायतका गीतहरू लोकप्रिय रहेका छन् ।
यसपाली पलेँटीमा प्रस्तुत हुने नीर शाहका रचनामा सङ्गीतकार नातिकाजी, शम्भुजित बास्कोटा, सिके रसाइली र दीप श्रेष्ठहरूले धुन भरेका गीत समेटिएका छन् ।
पलेँटीनिम्ति तयारी गरिरहेको साङ्गीतिक टिम माझ भेटिएका गीतकार नीर शाह आगामी कार्यक्रम बारे टिप्पणी गर्दै भन्छन्- 'संगीत नाट्य विधासँग म यसरी नजिक छु कि सङ्गीतको सानो ध्यान वा ठूलो कन्सर्ट भइरहेको ठाउँ उत्तिकै प्रिय लाग्छ । पलेँटीको पूर्वाभ्यासमा सहभागी हुन आइपुगेँ; गायक वाद्यवादक सबै प्रतिभा सम्पन्न हुनुहुँदो रहेछ । गौरवशाली इतिहास हो यो । उहाँहरूको प्रतिभासित प्रत्यक्ष साक्षी हुने मौका पाउँदा उत्साहित बनेको छु ।'
आफ्नो अनुभवको सम्झना गर्दै शाह अगाडि भन्छन्- ' नारायण गोपाल दाइको लाइभ कन्सर्ट गरेको सम्झना छ । त्यो मेरो दायित्व थियो । त्यस्तै प्रकृतिको पलेँटीलाई जीवनका महत्वपूर्ण शृंखलामध्ये एक हो भन्ने ठानेको छु ।'

कार्यक्रम बारे पलेँटीका संयोजक आभास भन्छन् - 'साङ्गीतिक रचनाका तीनवटै विधालाई समेट्ने क्रममा यसपाली गीतकार नीर शाहलाई निम्त्याएका छौँ । संचार र चलिचित्र क्षेत्रका साथै गीति साहित्यमा उहाँको उल्लेख्य योगदान रहेको छ । सृजनात्मक अनुभवसहितको यसपालीको पलेँटी रोमान्चक रहनेमा विश्वस्त छु ।'
पलेँटी कार्यक्रम यही अगष्ट महिनाको अन्तिम शुक्रबार र शनिबार; २८ र २९ तारिखका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको 'आर'शालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।
'आर'शालामा उपस्थित हुन असमर्थ सङ्गीतप्रेमीका निम्ति अनलाइनबाटै प्रत्यक्ष हेर्न Pay-Per-View को व्यवस्था पनि गरिएको छ। त्यसका निम्ति पलेँटीको वेभ साइटमा रहेको Purchase Live Access बटनमा क्लिक गरेर आफ्नो वालेट प्रयोग गर्नुपर्ने हुन्छ ।