nepalaya

नेपाली डकुमेन्ट्रि स... कर्णाली... भोलि सार्वजनिक हुने

Oct 04, 2006

नेपाली डकुमेन्ट्रि स...कर्णाली भोलि काठमाडौंस्थित कुमारी सिनेमाघरबाट सार्वजनिक हुँदैछ ।

भेडाको ऊन जस्तो.....का निर्माता/निर्देशक किरण कृष्ण श्रेष्ठद्धारा निर्मित यस वृत्तचित्रले दर्शकहरूलाई कणार्लीको दुर्गम डोल्पा जिल्लाको भ्रमणमा लैजानेछ ।

भेडाको ऊन जस्तो...मा किरण आफ्नो क्यामेराकासाथ लाङटाङ्ग क्षेत्रमा एउटा लोक धुनको खोजीमा हिंडेको एक टोलीको पछि लागेका थिए भने यसमा उनी नेपथ्य समूहको गीत (स कर्णाली..) छायांकन गरिरहेको म्यूजिक भिडियो टोलीलाई पछ्याइरहेका छन् ।

वृत्तचित्रको कथामाथि प्रकाश पार्दै, किरण भन्छन्, “यो निकै सरल छ, – नेपालगञ्ज एयरर्पोटबाट सुरू भइ जुफाल, दुनाइ र सुलिगढ हुँदै मनमोहक से फोकसुण्डो तालसम्म पुग्दछ । म निर्माण टोलीको एक सदस्यको रूपमा यात्रा गरिरहेको थिएँ र त्यहाँ भइरहेको क्रियाकलापलाई क्यामारामा कैद पनि गरिरहेको थिएँ । यसरी नै यो डकुमेन्ट्रि बन्नपुग्यो ।”

भेडाको ऊन जस्तो... मा झैं यस पटक पनि किरणको वृत्तचित्रमा परिचित अनुहारहरू रहेका छन् । म्यूजिक भिडियो निर्देशक भुषण दाहाल, नेपथ्यका गायक अमृत गुरूङ्ग र क्याराभान चलचित्रका थिन्ले यसका प्रमुख पात्र रहेका छन् ।

“यो म्यूजिक भिडियो निर्माणमा आधारित डकुमेन्ट्रि लाग्नसक्छ तर समानन्तर रूपमा यसमा डोल्पाको कथा पनि समाविष्ट छ । डोल्पाको संस्कृति, रहनसहन, अद्धितिय प्राकृतिक दृष्य र म्यूजिक भिडियो निर्माणको कला आदि यस ५२ मिनेट लामो वृत्तचित्रमा समेटिएको छ”, किरण अगाडि थप्छन्, ।

वृत्तचित्रको निर्माता नेपालयका अपर्ण शर्मा भन्छन्, “सिनेमाघरमा कुनै पनि डकुमेन्ट्रि सार्वजनिक गर्न पाउनु निकै ठूलो कुरा हो । भेँडाको ऊन जस्तो...पश्चात यो अवसर पाउने सायद स कर्णली.....दोस्रो नेपाली डकुमेन्ट्रि होला । यो चुनौतिपूर्ण छ, तर यसले दर्शकहरूलाई सन्तुष्टी दिनेमा हामी विश्वस्त छौ ।”

कुमारी सिनेमाघर सञ्चालने गर्ने भिजन क्वेस्टका नकिम उद्धिन भन्छन्, “हामी अन्तर्गतका सिनेमाघरहरूमा नेपाली चलचित्र नलगाएको आरोप हामी माथि लाग्ने गरेको छ । तर राम्रो फिल्म पाउँदा हामी नाइ भन्दैनौं । केही वर्ष अघि जय नेपालमा प्रर्दशित भेडाँको ऊन जस्तो...ले राम्रै गरेको थियो र स कर्णाली....ले पनि राम्रै गर्छ भन्नेमा हामी विश्वस्त छौं ।”

किरण कृष्ण श्रेष्ठद्धारा छायाँकन तथा निर्देशित यस वृत्तचित्रमा स्क्रिप्ट लेखन नारायण वाग्लेको रहेको छ ।

“काठमाडौंका सिनेमाप्रेमीबीच नेपाली डकुमेन्ट्रि इतिहासको अर्को पल बाँड्न पाएकोमा हामी हर्षित छौं,” अर्पण शर्मा अगाडि भन्छन् ।

यही असोज १९ गते कुमारी सिनेमाघरमा सार्वजनिक भएपश्चात, २१ गते आइतबारसम्म यसको  नियमित प्रदर्शन हुनेछ । सोमबार देखी विहिबारसम्म भने यो बेलुकी शोमा मात्र प्रर्दशित हुनेछ ।