nepalaya

कवि मनु मन्जिलको कविता वाचनसँगै सुरु भयो ‘काव्य श्रवण’

Jun 07, 2026
कवि मनु मन्जिलको कविता वाचनसँगै सुरु भयो ‘काव्य श्रवण’

गत शुक्रबार नेपालयस्थित कालिकास्थानको ‘आर’शालामा कवि मनु मन्जिलको सशुल्क एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । ‘काव्य–श्रवण’ नाम दिइएको यो कार्यक्रम अबदेखि हरेक अंग्रेजी महिनाको पहिलो शुक्रबार आरशालामा आयोजना हुनेछ । आरशालामा पलेँटी र पुस्तक कार्यक्रम गरिरहेको नेपालयले अब पोयट्री पनि थप गरेको छ ।

काव्य श्रवण कार्यक्रमका संयोजक कवि तथा आख्यानकार श्रवण मुकारुङका प्रश्नमा जवाफ दिँदै मनु मन्जिल कवितातिर अघि बढेका थिए ।

श्रवण मुकारुङले सुरुमै मनु मन्जिलको कविता यात्राको आरम्भ विन्दुबारे प्रश्न गरेका थिए । मनु मन्जिलले भने, ‘स्कुल पढ्दा लेखेको कविता कतै नछापिएपछि घरको ढोकामा गोबरले टाँसेँ । घर आउने कसैले प्रतिक्रिया दिनुभएन । तर, मेरो एक जना गुरुले आमालाई भन्नुभयो, आमा यो कान्छो त ठूलो कवि हुन्छ ।’ यसरी आफू कवि बन्ने बाटोमा लागेको कहानी मनु मन्जिलले सुनाए ।

श्रवण मुकारुङको दोस्रो प्रश्न थियो, ‘विश्व काव्य साहित्यमा हामी कता छौँ ?’ मनुको विचारमा पश्चिमाहरु अहिले संरचनागत रुपमा चुस्त–दुरुस्त छन् तर भावनाको प्रवाह बलियो छैन तर नेपाललगायत दक्षिण एसियाका धेरै देशमा भावना तीव्र छ, संरचना चुस्त हुन सकेको छैन । सामाजिक–राजनीतिक परिवर्तन तीव्र भइरहने मुलुकमा काव्य पनि तीव्र भावमय भएको उनले सुनाए ।

यसपछि मनु आफ्ना कवितातिर लागे । गाउँले एक बालक सम्झेर, उनी कविता जीवनको रङले लेख्छिन्, दुस्मन, घोडा, यो सहर कसको हो ?, केटाकेटीहरु, तिमी मेरो क्यानभासमा, पहाड र पहिरो आदि कविता सुनाए । केही कविताको रचना गर्भ सुनाए ।

खचाखच दर्शक माझ सम्पन्न कार्यक्रममा कवि मनु मन्जिलले कविताको रचना गर्भसहित कवितामाथि सारगर्भिक मन्तव्य राख्दै कविता वाचन गरेका थिए ।

प्रवेश शुल्कसहित आयोजना भएको सो कार्यक्रम हेर्न, सुन्न अनलाइनमार्फत टिकेट काटेर आउने काव्यप्रेमीको संख्या अत्यधिक थियो ।

यस कार्यक्रममा संलग्न हुने साहित्यप्रेमीलाई नेपालयले विगत साढे चार वर्षदेखि सञ्चालन गर्दै आएको ई–कविता शृङ्खलाको वार्षिक सदस्यता निःशुल्क हुने जानकारी गराइएको थियो । जस अन्तर्गत ई–कवितामा प्रकाशित, प्रसारित कविता निःशुल्क पढ्न सुन्न सकिनेछ ।

इटहरीमा प्राध्यापन कर्ममा व्यस्त कवि मनु मन्जिलको ‘ल्याम्प–पोस्टबाट खसेको जून’ कविता संग्रह प्रकाशित छ ।

अभियानलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रममा उपस्थित दर्शक, श्रोता स्वतः ग्राहक हुने प्रावधान राखिएको कुरा कार्यक्रम सञ्चालक कवि तथा आख्यानकार श्रवण मुकारुङले जानकारी गराएका छन् ।

हरेक अंग्रेजी महिनाको पहिलो शुक्रबार साँझ साढे पाँच बजे नेपालयको ‘आर’शालामा हुने कार्यक्रमको दोस्रो शृंखलामा कवि स्वप्निल स्मृति प्रस्तुत हुने कुरा आयोजकले जानकारी गराएका छन् ।

काव्य श्रवणको लागि टिकेट यो लिंक https://publicationnepalaya.com/event-detail/kavya-shrawan-swapnil-smriti बाट प्राप्त गर्न सकिन्छ ।