पलेँटीमा गणेश रसिक

पलेँटी शृंखला अँन्तरगत आठौं शृंखलाको प्रस्तुति हुने तयारी पुरा भएको छ । २००६ को आठौं पलेटीमा सुप्रसिद्ध सङ्गीतकार तथा गायक गणेश रसिकको सहभागिता हुने भएको छ ।
नेपाली सङ्गीत जगतका निम्ति गणेश रसिक चीर परिचित नाम हो । गणेश रसिक ‘राल्फा’ कालीन सङ्गीतकार हुन् । ‘राल्फा’ मा संलग्न हुनु पहिले रसिक भित्र सङ्गीत कर्मको भन्दा लेखन कर्मको सपना अङ्कुरित थियो । तर ‘राल्फा’ ले उनलाई सङ्गीतसित अभिन्न रहने बाटो खोल्यो । ‘राल्फा’ बाट अलग भएपछि उनको सक्रियता ‘लेकाली’मा रह्यो । त्यसबखत यी दुबै साङ्गीतिक समूहले नेपाली सङ्गीत जगतमा नौलो तरङ्ग ल्याएका थिए ।
रसिकले ‘लेकाली’ भित्र रहेर विविध शैलीका गीतहरू सिर्जना गरे । लोक, आधुनिक र काव्यात्मक शब्दलाई समेत सङ्गीतमा ढाल्न सिपालु रसिकका अनेकौं गीतहरू निक्कै लोकप्रिय भए ।‘धेरै सम्झे धेरै हुन्छ’ र ‘घरबेटी नानी, आँगनमा देऊ न मलाई बास’जस्ता गीतले रसिकलाई सफल सङ्गीतकारको रुपमा स्थापित गराए । उनले सिर्जना गरेका सङ्गीतमा हुस्सुले छोपेको शहर, नेपालमा जन्मभइ नेपाली हुनेहरू, नुन जस्तो विल्ने, मसँग एउटा तारा छ मायाकोआदि गीत अहिले पनि उत्तिकै कर्णप्रिय छन् ।
सङ्गीत र साहित्यमा निरन्तर लागिरहेका रसिकले २५, २६ अगष्टको पलेँटी शृंखलामा आफ्ना तिनै सिर्जनाहरू घन्काउने छन् ।
‘पलेँटीमा भाग लिएर आफ्नो अतीतलाई ताजा गराउने जमर्को गर्दै छु । सङ्गीतमा रमाउन चाहने श्रोताहरू सामू प्रतक्ष गाउन पाउनु हरेक कलाकारको निम्ति अनुपम क्षण हो । म पनि त्यही क्षणको आनन्द लिने अभिलाषाका साथ अभ्यासरत छु ।’ पलेँटीनिम्ति मेरी सिम्मा बोलको गीत गाउदै गरेका रसिको टिप्पणी थियो ।
‘रसिक दाइ सङ्गीत र जीवन दुबैलाई रसिक ढंगले अप्नाउने सीपालु कलाकार हुनुहुन्छ । पलेँटीमा रसिक दाइलाई प्रस्तुत गर्न पाउदा पलेँटीको परिवेश फैलँदै गएको अनुभूति भएको छ ।’ पलेँटी शृंखलाका संयोजक आभासको भनाइ थियो ।
गणेश रसिकको पलेँटी
स्थानः नेपा~लय ‘आर’शाला
मितिः २५, २६, अगष्ट २००६ शुक्रबार
समयः बेलुकी ५ः३० बजे