पलेँटीमा दावा ग्याल्मो
पलेँटी शृंखला अन्तरगत सेप्टेम्बरको शृंखला प्रस्तुति हुने तयारी पुरा भएको छ । यस महिनाको पलेँटीमा सहभागी हुन सुप्रसिद्ध नेपाली गायिका दावा ग्याल्मो काठमाण्डौ आइपुगेर पलेँटीका वाद्यवादक कलाकारसित अभ्यासमा जुटेकी छन् ।
नेपाली सङ्गीत जगतका निम्ति चीर परिचित दावा ग्याल्मो नेपाली आधुनिक सङ्गीत जगतमा आजभन्दा ३० वर्ष पहिले नै स्थापित कलाकार हुन् । उनको स्वरुप जति सरल र सादा देखिन्छ गायन भने अति गम्भीर र गहन । १६/१७ वर्षको कलिलो उमेरमै रेडियोमा गाउने अवसर पाएकी दावाकासहरभित्र केको हल्ला, रात गहिरिंदै जान्छ, जिन्दगीका मायाहरु जस्ता गीतले उनलाई नेपाली गायनमा अद्वितीय कलाकारको रुपमा उभ्याएका छन् ।
अझ मलाई रुखो सहानुभूति,रशुभकामना जस्ता गीतले दावालाई झनै उच्च गायिकाका रुपमा पुष्ट्याएका छन् । सेप्टेम्बर महिनाको पलेँटी, लामो समयदेखि मौन गायिका दावाको जीवनकै पहिलो एकल गायनको पलेँटी हुनेछ ।
‘पलेँटी शृंखलामा भागलिने कुराले दार्जिलिङ् छँदा एकखालको अत्यास लागेको थियो । नगाएको लामो समय भयो के होला भनेर । तर यहाँ आएर अभ्यास सुरु गरेपछि उत्साह र आँट बढेको छ । पलेँटीका श्रोतालाई सक्दो आनन्द दिने प्रयास गर्नेछु ।’ पलेँटीनिम्ति शहर भित्र केको हल्ला बोलको गीत अभ्यास गर्दै गरेकी दावाको टिप्पणी थियो ।
‘दावा ग्याल्मोको स्वरमा रहेको मीठासले नेपाली संगीतजगतलाई कर्णप्रिय बनाउन ठूलो योगदान दिएको छ । अनुभवी र स्तरीय कलाकारलाई पलेँटीमा प्रस्तुत गर्न पाउनु हाम्रोलागि गौरवको विषय हो ।’ पलेँटी शृंखलाका संयोजक आभासको भनाइ थियो ।
नेपालयले सञ्चालन गर्दै आएको पलेँटीमा दावा ग्याल्मोभन्दा पहिले भीम विराग, शान्ति ठटाल, कुमार सुब्बा, कर्म योञ्जन, डेजी बराइली, मञ्जुल र फत्तेमानको नाम जोडिइसकेको छ ।
‘पलेँटीमा एकदिन थप अतिरिक्त कार्यक्रम हुने प्रचलन नै भइसकेको छ । सामान्यतया शनिबार हुने अतिरिक्त कार्यक्रम यसपाली दशैँको कारणले गर्दा विहिबार (२८ सेप्टेम्बर) मै हुने भएको छ ।’ थप कार्यक्रमका बारेमा आभास जानकारी गराउदै थिए ।
दावा ग्याल्मोको पलेँटी
स्थानः नेपा~लय ‘आर’शाला
मितिः २८, २९, सेप्टेम्बर २००६– विहीबार, शुक्रबार
समयः बेलुकी ५ः३० बजे