nepalaya

दाङकी लीला शर्मा अस्मिताको ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ दाङबाट लोकार्पण

Sep 20, 2026
दाङकी लीला शर्मा अस्मिताको ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ दाङबाट लोकार्पण

दाङमा जन्मे–हुर्केकी लेखक लीला शर्मा ‘अस्मिता’को पुस्तक ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ शनिबार दाङको घोराहीमा लोकार्पण गरिएको छ । जन्मस्थान देउखुरीको धैरेनीबाट घोराहीमा कलेज पढ्न आउँदा ३० वर्षअघि यही शरद याममा चिठी पुर्याइदिने बहानामा आफूलाई माओवादीसित पुर्याइएको स्मरण गर्दै लेखक लीला शर्माले लोकार्पणका लागि उही ठाउँ घोराही रोजेको बताइन् ।
‘जहाँबाट आफ्नो बाटो मोडियो, त्यहीँ आइपुगेकी छु । यी दौरानमा दुइटा लडाइँ लडियो । एउटा युद्ध र अर्का क्यान्सर । जे देखेँभोगेँ, त्यही लेखेकी छु’ लेखक लीला शर्माले भनिन्, ‘युद्धकालभरि म धेरै डायरी लेख्थेँ । अझै धेरै डायरी जोगाएर राखेकी छु । आफ्नो कथा आफैँ लेख्नुपर्छ भन्ने लागेर पुस्तक लेखेकी हुँ ।

लोकार्पण कार्यक्रमका प्रमुख अतिथि ९६ वर्षीय सक्रिय पत्रकार तथा लेखक नारायणप्रसाद शर्माको उपस्थिति र मन्तव्यले धेरैको मन जितेको थियो । दाङमा ‘नयाँ युगबोध’ दैनिक सञ्चालन गर्ने अग्रज पत्रकार नारायण शर्माले लीलाको पुस्तकले नयाँ युगबोध गराएको महसुस आफूले गरेको टिप्पणी गरे । आफ्नो दाङबाट बलियो लेखकको जन्म भएको उनको भनाइ थियो ।

समालोचक तथा कवि अमर गिरीले पुस्तकबारे टिप्पणी गरे । माओवादी विद्रोहबारे लेखिएका धेरै किताब आफूले पढेको र ती तीन थरी रहेको गिरीले बताए । एकथरी विद्रोहको अँध्यारो पाटोमा मात्र, अर्काथरी उज्यालो पाटोमा मात्र र तेस्रो थरी अँध्यारो–उज्यालो जे छ त्यही प्रस्तुत गर्ने यथार्थ पाटोमा । गिरीले लीलाको लेखनलाई यथार्थ पस्किएको सुन्दर र पठनीय संस्मरणको संज्ञा दिए ।

दाङमा २०१० सालमै स्थापना भएको सर्वोदय पुस्तकालयका अध्यक्ष तथा पठन संस्कृति प्रवद्र्धक सुशील गौतमले लीलाको लेखनले आफूलाई चुम्बक जसरी तानेको तान्यै गरेको बताए । ‘हिजो मात्र आफूले प्राप्त गरेको पुस्तक केही पाना पढ्छु भनेर साँझमा सुरु गरेको थिएँ, तर किताबले यस्तरी तान्यो, कि अहिले बिहानसम्म मैले लगभग पूरै पढिसकेँ,’ उनले भने ।

पत्रकार महासंघ दाङको सभाहलमा करिब दुई सय जना सहभागीबीच लेखक लीला शर्मासहित अग्रज पत्रकार तथा लेखक नारायण शर्मा, समालोचक तथा कवि अमर गिरी, सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम तथा नेपालयका सम्पादक विमल आचार्यले पुस्तक लोकार्पण गरेका थिए ।

पब्लिकेसन नेपालयले प्रकाशन गरेको २३६ पृष्ठको पुस्तकको मूल्य ५७५ रुपैयाँ रहेको छ । पुस्तक आइतबारदेखि देशभरका प्रमुख पुस्तक पसलमा किन्न सकिन्छ । साथै, थुप्रैडटकम र अमेजनमार्फत संसारभरबाट अनलाइन किन्न पनि सकिन्छ ।